सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, २२ चैत । काठमाडौं, ललितपुर, नवलपरासी (पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४९ प ७४५४ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार पेप्सीकोला बस्ने सिन्धुलीका २२ वर्षीय बालकृष्ण कार्कीको बिएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरेहको छ ।
ललितपुर महानगरपालिका–१४ झरुवारासीस्थित सडकमा बा।५ ख ३९३९ नम्बरको ट्रकले ललितपुर गोदावरी नगरपालिका–१४ ठैब बस्ने मकवानपुर हेटौंडा घर भएका भरत न्यौपानेको २ वर्षीय छोरा कौशल न्यौपानेलाई शुक्रबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व) काे मध्यबिन्दु नगरपालिका–१० सडकमा ना.८ ख १८४५ नम्बरको ट्रकले लु.४१ प १७२७ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक नवलपरासी (पूर्व) देवचुली नगरपालिका सिर्जनाचोक रजहर बस्ने २२ वर्षीय टिकाराम महतोको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २१ वर्षीय भरत गुरैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।