रोकियो भारतबाट आउने ७० मेगावाट बिजुली

रोकियो भारतबाट आउने ७० मेगावाट बिजुली

काठमाडौं, १९ चैत । बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ३३ केभीका वीरगञ्ज, रक्सौल प्रसारण लाइन र १ सय ३२ केभी क्षमताको रक्सौल, पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट बिजुली आयात अवरुद्ध भएको हो ।

प्राधिकरणले भारतबाट हुने बिजुली आपूर्ति रोकिए पनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको छ । हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा विजुली आपूर्ति सुचारु गरिसकेको छ ।

ग्रामीण भेगमा पनि मर्मतको काम गर्दै विजुली आपूर्ति सुचारु गर्न काम सुरु भएको छ । प्राधिकरणले हाल बारा पर्सामा रौतहटको सबस्टेशनबाट आपूर्तिको व्यवस्था मिलाएको छ ।