पीडितलाई सहयोग गर्न बारा र पर्सामा कांग्रेस सभापति देउवा

पीडितलाई सहयोग गर्न बारा र पर्सामा कांग्रेस सभापति देउवा

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा पुगेर प्रभावितहरुलाई भेट्नु भएको छ । देउवाले सङ्कटको समयमा सबै एक भएर हावाहुरीबाट पीडितलाई सरकारले छिटोभन्दा छिटो राहत सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

सो अवसरमा उहाँले काँग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरका अनुसार, सभापति देउवा आजै बाराका अतिप्रभावित बरबरिया, भलुही, कुरैनियालगायतका गाउँको स्थलगत निरीक्षण गरी जिल्लास्थित कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटी उनीहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो ।

त्यही क्रममा स्थानीय पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भावुक हुँदै आफ्नो पार्टीका प्रदेश सांसद तथा जिल्लास्तरीय नेताले सोमबार आफ्नो तर्फबाट तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउन घोषणा गरेको र केन्द्रको तर्फबाट आफूले २५ लाख रुपैयाँ हावाहुरीपीडितका लागि उपलब्ध गराउन घोषणा गर्नुभएको थियो ।

अनपेक्षित र आश्चर्यजनक रूपमा आएको हावाहुरीले बारा र पर्साका जनतालाई परेको पीडा आफूले आफैँलाई परेको जस्तो महसुस गरेको बताउँदै पीडितको राहत, पुनस्र्थापनाका लागि आफ्नो पार्टीका सबै तहका नेता, कार्यकर्तालाई परिचालित हुन र पीडितको सहयोगमा सकेको मद्दत पुर्याउन आफूले निर्देशन दिएको पनि उहाँले बताउनुभएको थियो ।

साथै उहाँले तत्काल राहत तथा उद्धारका लागि चाहिने सबै व्यवस्था मिलाउन र घरबार बिहिन भएका पीडितको दीर्घकालिन पुनस्थापनाका लागि आफ्नो पार्टीले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने सभापति देउवाले प्रतिबद्धता जनाउनुभयो । देउवाले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

यसअघि कपिलवस्तुको कार्यक्रममा सहभागी हुन पुग्नुभएका देउवा हेलिकोप्टरबाट सोझै पर्सा र बारा पुगी त्यहाँको नारायणी क्षेत्रीय अस्पताल र मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिएको पर्साका कांग्रेस नेता एवं पूर्वसभासद अनिल रुंगटाले बताउनुभयो ।

पर्सा र बाराको स्थलगत भ्रमणलगत्तै सभापति देउवा कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी हुन जानुभएको थियो । यसअघि, सोमबार कांग्रेस उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा गएको टोेलीले बाराको हावाहुरी प्रभावित क्षेत्रका स्थलगत भ्रमण गरी आफू र आफ्नो प्रदेशका तर्फबाट एकमुष्ट १० लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउनुभएको थियो ।

यसैगरी कांग्रेस संघीय संसद सचिवालयले आफ्ना सांसदको दुई दिनको तलब बराबरको रकम पीडितका लागि उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । आज बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी, हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै, प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।