क्याप नेपालले शुरु गर्याे निःशुल्क मनोविमर्श शिविर

क्याप नेपालले शुरु गर्याे निःशुल्क मनोविमर्श शिविर

काठमाडौं, १९ चैत । समाज रुपान्तरणकालागि उल्लेख्य काम गर्दै आएकाे चेतना अभिबृद्धि केन्द्र (क्याप) नेपालले काठमाडौं व्यस्त स्थान गौशाला चोकमा निःशुल्क मनोविमर्श शिविर कार्यक्रम सञ्चालन गरेको छ ।

लैंगिकतामा आधारित हिंसा, मानव बेचबिखन तथा उच्चतम् जोखिममा रहेका महिला तथा किशोरीहरुको सशक्तिकरण, विकास र अधिकारका निम्ती काम गर्दै आएको क्याप नेपालले चैत १८ गते देखि २२ गते ५ दिनसम्मका लागि शिविर सञ्चालन गरेको हो ।

निःशुल्क मनोविमर्श शिविर कार्यक्रम गौशाला चोकस्थित होटल श्रद्धा प्यालेसमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भइरहेको छ ।अहिले त्यस क्षेत्रमा कार्यरत श्रमिक महिला तथा बालिकाहरुले त्यहाँबाट परामर्श लिइरहेको क्याप नेपालका कार्यक्रम व्यवस्थापक सविता मोक्तानले जानकारी दिनुभयो । शिविरको पहिलो दिन झण्डै ३० जनाले परामर्श शिविरमा भाग लिएका थिए ।

विगतमाझैं यसपटक पनि महिलाहरुकालागि स्वास्थ्य, करियर सम्बन्धी जानकारी दिने उद्देश्यले क्याप नेपालले विशेष मनोविमर्श शिविर सञ्चालन गरेको हो । क्याप नेपालले नियमितरुपमा आयोजना गर्दै आएको यस प्रकारका कार्यक्रमहरुले पीडितहरुलाई जीवन परिवर्तनकालागी उत्प्रेरणा प्रदान गर्न मद्दत पुग्दै आएको सहभागीहरुले बताएका छन् ।

क्याप नेपालका प्रबन्ध निर्देशक भुपाल ढकालका अनुसार क्याप नेपालले यस प्रकार शिविरहरु निरन्तररुपमा सञ्चालन गर्दै आइरहेको छ । यस्ता शिविरहरुबाट दैनिकरुपमा बेवास्ता गरिदै आइएको आफ्नो स्वास्थ्यको चेकअप हुने, उनीहरुमा भएका समस्याको पहिचान गरेर समयमै उपचारका लागि बाटो देखाउनुकासाथै महिलाहरुकालागि करियर सम्बन्धी जानकारी लिने गतिलाे अवसर भएको ढकाल बताउनुहुन्छ ।

ढकाल भन्नुहुन्छ –‘सामाजिक, साँस्कृतिक तथा आर्थीक बिभेदका कारण उब्जने लैगिंकतामा आधारित हिंसा, मानव बेचबिखन तथा व्यवसायिक यौन दुव्र्यवहारको अन्त्य गर्नका लागि महिला, किशोरी तथा बालिकाहरुको विकास, सशक्तिकरण तथा सवलिकरण, र अधिकारका लागि पैरवी गर्दै आएको चेतना अभिबृद्धि केन्द्र (क्याप) नेपालले, विगतमा पनि काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा घुम्ति शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।’

क्याप नेपालले नियमितरुपमा आयोजना गर्दै आएको यस प्रकारका कार्यक्रमहरुले समस्यामा रहेकाहरुलाई जीवन परिवर्तनकालागी उत्प्रेरणा प्रदान गर्न मद्दत पुग्दै आएको क्याप नेपालका व्यवस्थापक अमित तिमिल्सिनाले बताउनुभयो ।