

पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।अहिले पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमाथी नेपालकै अग्लो झोलुङ्गे पुल निर्माण सुरु भएको हो । २०५९ सालबाट सम्भाव्यता अध्ययन थालिएको यस पुल निर्माणको काम झण्डै १६ बर्ष पछि सुरु हुन लागेको हो ।
हिजो डोलीडारको टोलीले पुलको रेखाङकन गरी गहिराई, चौडाई, लम्बाईको नक्सा लिएको छ । कुश्मा नगरपालिका –१ पाङ बाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लामो पुल निर्माण गर्न थालिएको हो । यो पुल झण्डै एक सय २२ मिटर अग्लो हुने प्राविधिकहरुले बताएका छन् । पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको छ ।
यस बर्षबाट सुरु गरी २०७७ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुल निर्माणमा बजेट अभाव तथा स्थानीयबासीको अवरोध नआएमा समयमा नै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य रहेको छ । यहि पुल बनाउन यस बर्ष नेपाल सरकारले चिनिया प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैँया बजेट बिनियोजन गरेपछि काम अगाडी बढेको हो ।
झण्डै ९ महिना देखि डिजाईनको काम गरिएको थियो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयकाअनुसार अहिले सम्म ३ सय ६५ मिटर सम्मका लामो पुल बनाएकाले यस पुल दक्षिण एशियाकै लामो हुने बताइएको छ । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ ।