मेलम्चीमा आन्दोलन शुरुः पैसा नपाए काम गर्न नदिने चेतावनी

मेलम्चीमा आन्दोलन शुरुः पैसा नपाए काम गर्न नदिने चेतावनी

–रामचन्द्र दुलाल–

सिन्धुपाल्चोक, २८ फागुन । बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजना फेरि विवादित बनेको छ । त्यसो त अहिले देखिएको विवाद पहिलो पटक होइन । यसअघि पनि पटक पटक मेलम्ची खानेपानी आयोजना विवादमा रुमलिदै आएको छ ।

पछिल्लो समय आयोजना स्थानीय ठेकेदारहरुले पैसा नपाएका कारण फेरि विवादमा आएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय ठेकेदारहरुले नयाँ ठेकेदार कम्पनी आएपनि आफूहरुले पैसा नपाए आयोजनाको काम अघि बढाउन नदिने चेतावनी दिएका छन्। त्यती मात्र होइन उनीहरुले चरणवद्ध रुपमा संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेर आन्दोलनमा उत्रिएको बताएका छन् । सरकारी तहबाट कुनै सुनुवाइ नभएको भन्दै व्यवसायी तथा ठेकेदारहरुले आजबाट आन्दोलनको घोषणा गरेका हुन् ।

स्थानीय ठेकेदारको भनाई छ –‘धेरै जना स्थानीय ठेकेदारको बक्यौता भुक्तानी बाँकी रहेको र त्यो बक्यौता नपाए मेलम्ची खानेपानी आयोजनामा काम गर्न दिदैनौ ।’

आयोजनाको तत्कालीन मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसीले स्थानीय ठेकेदारलाई ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको उनीहरुले बताएका छन् ।

यसअघि पनि पटकपटक सम्बन्धित निकायमा आफूहरुको रकम भुक्तानीका लागि ताकेता गरेको तर बक्यौता तिर्ने सम्बन्धमा सकारात्मक लक्षण नदेखिएकाले हुँदा बाध्य भएर चरणवद्ध आन्दोलनका कार्यक्रम लिएर आउनु परेको उनीहरुले बताएका छन् ।

संघर्षका कार्यक्रमहरुमा बाहुनेपाटीको फिल्ड अफिसमा तालाबन्दी गर्ने लगायतका रहेको उनीहरुले बताएका छन् । हरेक दूई महिनामा भुक्तानी दिने गरिएको तर पछिल्लो समय भुक्तानी रोकिएको स्थानीय ठेकेदारको भनाइ छ।

खानेपानी आयोजनाले सप्लाई नरोक्न र सिएएमसीले नतिरे आफू जिम्मेवार रहेको भनेको तर आजसम्म पनि रकम भुक्तानी नभएको भन्दै स्थानीय ठेकेदारले विरोध जनाएका छन्।

आज सुरुङ निर्माण स्थलमा पुगेर आन्दोलन गरिने राजन एन्ड राजेश मोबाइल हाउसका प्रोपाइटर राजनलाल श्रेष्ठले बताएका छन् ।

सरकारले सिएमसीले धरौटी वापत राखेको रकमबाट आफुहरुले पाउनुपर्ने रकम उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ।

‘सिएमसी’ले हात झिकेपछि स्थानीय ठेकेदार तथा व्यापारीहरुकाे करिब १६ कराेड रुपैयाँ डुब्ने अवस्थामा पुगेकाे छ।

सिटामाेलदेखि रिचार्ज कार्डसम्म उधाराे लिएकाे सिएमसीले साे रकम भुक्तानी नगरी आयाेजनाबाट हात झिकेपछि उक्त रकम डुब्ने अवस्थामा पुगेकाे हाे। सिएमसीले अर्थिक संकट देखाउँदै निर्माण कार्यबाट हात झिकेकाे थियाे।

मेलम्ची खानेपानी आयाेजनाकाे सुरुङ खन्ने जिम्मा पाएकाे सिएमसीले निर्माणका क्रममा स्थानीय ठेकेदार तथा व्यापारीबाट सिटामाेल, रिचार्ज कार्ड, गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु, सडक मर्मत, फर्निचरका सामाग्री तथा मेसिन औजार उधाराेमा खरिद गरेकाे थियाे।

सिएमसीले निर्माणका क्रममा गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु र ढुवानी शिर्षकमा उत्सव निर्माण सेवाबाट ४ कराेड १० लाख ५८ हजार ४ सय ६८, जाल्पा एन्फाकचर प्रालिबाट ३ कराेड ३४ लाख ५ हजार ४ सय ३४ तथा गिटी, राधाकृष्ण हार्डवेयर सेन्टरबाट ३ कराेड ३१ लाख १२ हजार ४ सय ६१ र बुद्ध राेसनी निर्माण एन्ड सप्लायर्सबाट १ कराेड ७४ लाख ६६ हजार १ सय ८७ रुपैयाँ उधाराे लिएकाे छ।

राजन एन्ड राजेश माेबाइल हाउसबाट ५ लाख ३० हजार रुपैयाँकाे रिचार्ज कार्ड खरिद गरिएकाे छ। अन्य ठेकेदार तथा व्यापारीहरुमा बाहुनीपाटी निर्माण सेवा, खनाल सप्लायर्स, पाल्चाेक माई राेडा ढुंगा उद्याेग, न्यू गंगा निर्माण सेवा, भावना इन्टरप्राइजेज, एसबी कन्स्ट्रक्सन तथा शुक्र समिललगायत छन्। सिएमसीलाई उधाराे दिएर रकम फिर्ता नपाएका ठेकेदार तथा व्यापारीहरु मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाका रहेका छन्।

लामो समय काम गरी आयोजना सम्पन्न हुँदा कम्पनी भागेपछि व्यवसायी तथा ठकेदार मात्र होइन सिएमसीका कर्मचारीहरु समस्यामा छन्।

स्थानीय तबरमा काम गरेका कर्मचारी तथा कामदारले सिएमसीबाट ९ करोड रुपैयाँ पाउनुपर्ने देखिएको छ। आफ्नो तलबवापतको रकम लिनका लागि कर्मचारीहरुले पनि आन्दोलन गर्ने बताएका छन्। अहिले मेलम्ची आयोजनाबाट सिएमसी बाहिरिएपछि आयोजनाका सम्पत्ति अलपत्र अवस्थामा छन्।