अवैध लागूऔषध सहित ६जना पक्राउ

अवैध लागूऔषध सहित ६जना पक्राउ

काठमाडौं, ९ फागुन। काठमाडौं र बाँकेबाट अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं,नागार्जुन नगरपालिका-५ स्वयम्भु छक्डोल बस्ने ईन्द्रबहादुर सुनुवार र काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने १९ वर्षीय सुरज बस्नेतलाई करिब २ केजी ५० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-५ बस्ने अन्दाजी ४३ वर्षीया साँईली पुतुवारलाई लागूऔषध गाँजा करिब १ केजी सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घरभित्र बोरामा लुकाईछिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२४ महावौद्धबाट करिब १० ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित वर्दिया राजापुर नगरपालिका-७ घर भएका कैलाश थारुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट करिब २ सय ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही गाउँपालिका बस्ने १७ वर्षीय सिमोन बिक र सोही गाउँपालिका-१ सैनिक बस्ने २६ वर्षीय भिमबहादुर थापालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।