

काठमाडौँ, ६ फागुन । संसदीय सुनुवाइ समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित अध्यक्षलाई फागुन ७ गते सुनुवाइका लागि बोलाएको छ । समितिको आइतबारको बैठकले वित्त आयोगमा प्रस्तावित बालानन्द पौडेल र समावेशी आयोगमा प्रस्तावित डा. शान्तराज सुवेदीलाई सुनुवाइका लागि आमन्त्रण गरेको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
समिति सभापति लक्ष्मणलाल कर्णले सिफारिसको रोलक्रम अनुसार सुनुवाइका लागि आमन्त्रण गरिने जानकारी दिनुभयो । सभापति कर्णले भन्नुभयो, ‘‘हामीले बैठकमा मुस्लिम आयोगका अध्यक्षविरुद्ध परेका उजुरी खोल्यौं । सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेका छौँ । अब सिफारिसको रोलक्रम अनुसार प्रस्तावित अध्यक्षहरूलाई सुनुवाइका लागि आमन्त्रण गर्छौैं ।’’
समितिले दुई प्रस्तावित अध्यक्षको सुनुवाइ सकेपछि राष्ट्रिय मधेशी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ ।
यसैबीच, समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध परेका उजुरी सार्वजनिक गरेको छ । अन्सारीविरुद्ध चारवटा उजुरी समितिमा परेका छन् । उजुरीहरू शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतासँग जोडिएका छन् ।
समितिले मङ्गलबार बिहान ११ बजे उजुरीकर्तालाई छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि सुनुवाइको प्रक्रिया प्रारम्भ हुनेछ ।
समितिले सुनुवाइपछि प्रस्तावित पदाधिकारीको नामावली स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ । समितिको दुई तिहाइले प्रस्तावित पदाधिकारीलाई अस्वीकृत गर्न सक्ने सुनुवाइको कार्यविधिमा उल्लेख छ ।
सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनसम्म पनि समितिले कुनै निर्णय गर्न नसकेमा प्रस्तावित पदाधिकारीलाई नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।