

काठमाडौँ, २९ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ लाई भव्यताका साथ मनाउने तयारी भइरहेको बताउनुभयो । मन्त्रालयमा सोमबार आयोजित बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले सन् १९१० मा श्रमिक महिलाले आठ घन्टा काम गर्ने नीतिको माग गर्दै गरेको आन्दोलनको देनका रूपमा रहेको अन्तर्राष्ट्रिय महिला दिवस संसारभर मनाउने सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमसहित मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
नेपालमा संविधान कार्यान्वयनको चरणमा रहेको बेला समानताको आवाजसहित संविधानले प्रत्याभूत गरेका सबै अधिकार कार्यान्वयन हुनुपर्ने आवाज बुलन्द पारी दिवसलाई उत्सवको रूपमा मनाउने बताउनुभएको हो ।
मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले विश्वभर नै लैङ्गिक समानताको आवाजसाथ मनाउने अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मनाउने सन्दर्भमा , सरकारी, गैरसरकारी सङ्घ संस्थालगायत महिला हिंसा अन्त्यका लागि व्यक्तिगत रूपमै व्यापक सहभागिता रहने यस दिवसले समानताको सन्देश दिने बताउनुभयो ।
त्यसैगरी सोही मन्त्रालयका सहसचिव रूद्रादेवी शर्माले लैङ्गिक समानताको आवाज बुलन्द पार्दै मनाउने यस दिवसलाई सबै क्षेत्रको सहयोग र सहभागिताले गौरवमय बनाउने र जिम्मेवारी बाँडफाँडको साथ काम गर्न बैठकको आयोजना गरेको बताउनुभयो ।
विभिन्न सरकारी, गैरसरकारी, औद्योगिक, व्यवसायिक सङ्घ संस्थाका पदाधिकारीको सहभागितामा आयोजित बैठकमा नारा तय गर्ने, र्यालीको व्यवस्थापन, प्रचार सामग्री तयारीका बारेमा छलफल भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।