राजदूत सिफारिस रिक्त हुनुभन्दा तीन महिनाअघि

राजदूत सिफारिस रिक्त हुनुभन्दा तीन महिनाअघि

काठमाडौँ, २५ माघ । विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने भएका छन् । संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सरकारले असार २४ गते राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पारित गरेको थियो । निर्देशिका अनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै सिफारिस प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था छ । राजदूत नियुक्तिमा समावेशिताका विषयमा समितिले मन्त्री ज्ञवालीलाई छलफलका लागि बोलाएको थियो । मन्त्री ज्ञवालीले सकभर सरकारले दौत्य सम्बन्ध कायम गरी दूतावास स्थापना भएका देशमा राजदूत खाली नगर्ने सरकारको नीति रहेको बताउनुभयो ।

समितिमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘‘रिक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्ति प्रक्रिया सुरुवात गर्ने निर्देशिका अहिले हामीले प्रचलनमा ल्याएका छौँ ।’’ ‘‘हामीले जेनेभामा राजदूतको पदावधि कायम रहँदै नयाँ राजदूत सिफारिस समेत गरिसकेका छौँ । नयाँ मापदण्ड अनुसार नै हामीले सिफारिस गरेका हौँ’’, उहाँले स्पष्ट पार्नुभयो ।

परराष्ट्र मन्त्रालयले अहिले सबै देशको सम्बन्ध समेत बुभ्mने गरी देशहरूको प्रोफाइल तयार पार्ने काम गरिरहेको पनि मन्त्रीले ज्ञवालीले जानकारी दिनुभयो । देशको आर्थिक, सामाजिक अवस्था नेपालसँगको सम्बन्ध लगायतका विषयमा प्रोफाइल तयार भइरहेको उहाँले बताउनुभयो । नियुक्त हुने राजदूतले त्यसैबाट निर्देशित हुनुपर्ने उहाको भनाई छ । राजदूतहरूले अब, आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्ने पनि उहाँले बताउनुभयो ।
मन्त्री ज्ञवालीले राजदूतलाई सामान्य कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे न्यूनतम् जानकारी होस् भन्ने उद्देश्यले प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।

राजदूतले ग्लोबल ट्रेण्ड बुझ्न आवश्यक हुने पनि उहाँले बताउनुभयो । राजदूतको क्षमता अभिवृद्धि तथा कूटनीति सम्बन्धी न्यूनतम जानकारीका लागि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयोजनमा एक साताको प्रशिक्षण दिने गरिएको पनि उहाँले बताउनुभयो ।

कतिपय राजनीतिज्ञले नै राजदूत पदलाई हल्का रूपमा लिने गरेको पनि उहाँले बताउनुभयो । राजदूत बनाएर पठाएका देशमा निजी स्वार्थ भएका व्यक्तिलाई नियुक्त गर्दा विवादमा परेको स्मरण गर्दै मन्त्री ज्ञवालीले प्राथमिकता बुझ्नेलाई छनोट गर्नुपर्ने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।