

-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक, १४ माघ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नंः ६ थुम्पाखरमा ‘खानेपानी पहुँच सुधार आयोजना’ को पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । जापान सरकारको सहयोगमा १ करोड १३ लाख रुपैयाको लागतमा सम्पन्न आयोजनाबाट ५२ वटा धाराहरु निर्माण भएका छन् । यसबाट करिब ९ सय घरधुरी लाभान्वित भएका छन् । यतिखेर २० औं वर्षदेखि खानेपानी अभाव खेप्दै आएका सुन्दरडाँडाँका स्थानीयमा खुशीयाली छाएको छ ।

सो उद्घाटन समारोहमा प्रमुख अतिथि बस्नेतले ग्रामिण क्षेत्रमा रहेको खानेपानीको समस्या हटाउन यस प्रकारका आयोजनाले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आयोजना सम्पन्न गर्न स्थानीयको साथ र सहयोगको प्रशंसा गर्दै बस्नेतले जनताका हरेक दुख सुखमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण जिसी (विनोद) ले वडाका हरेक समस्या समाधान गर्न आफु लागिरहेको र भोलिका दिनमा पनि अनवरतरुपमा लाग्ने बताउनुभयो ।
सुनकोसी गाउँपालिकाका वडा नंः ६ का अध्यक्ष रामकुमार थापाले प्रयोग भएर बचेको पानीको सहि सदुपयोग गर्न पानी रिर्जव ट्ङयाकी बनाएर सिंचाईंको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले कुल १३ योजनामा ८ बटाको काम सम्पन्न भएको साथै ५ वटाको धमाधम काम भइरहेको जानकारी दिनुभयो । साथै कार्यक्रममा वडा सदस्य रुपकाजी लामा लगायतको उपस्थिती रहेको थियो ।
