आजबाट मौसममा सुधार आउने

आजबाट मौसममा सुधार आउने

काठमाडौँ, १३ माघ । पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका साथै पहाडी क्षेत्रमा भइरहेको हल्का वर्षामा आइतबारबाट आंशिक सुधार आउने भएको छ । यद्यपि पश्चिमी उच्चचापीय प्रणालीको प्रभावले नेपालमा मौसम प्रभावित भइरहेका कारण पहाडी क्षेत्रमा आइतबार पनि मौसम बदली भइरहने छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालका अनुसार, आइतबार दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोमबार पनि देशका पहाडी भेगहरूमा आंशिक बदली हुने जनाइएको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रिमालका अनुसार, सिरिया आसपास भूमध्य सागरको उच्च वायुमण्डलबाट उठेको न्यून चापीय प्रणाली भारतको उत्तरपश्चिम भाग हुँदै नेपालको पश्चिमी भागमा प्रवेश गरेको थियो ।

राजधानीको तामक्रम स्थिर रहे पनि उपत्यकामा बिहानैदेखि बद्ली रहेका कारण विहान बढी चिसो महसुस गरिएको छ । काठमाडौँको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।