आयोग अध्यक्षहरूको नाम सुनुवाइका लागि पठाइयो

आयोग अध्यक्षहरूको नाम सुनुवाइका लागि पठाइयो

काठमाडौँ, माघ १२ गते । संवैधानिक परिषद्ले विभिन्न पाँचवटा संवैधानिक आयोगको अध्यक्षमा प्रस्तावित अध्यक्षहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको छ । परिषद्ले प्रस्तावित अध्यक्षहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन बिहीबार पत्राचार गरेको हो । पत्राचार अनुसार अब समितिले प्रक्रिया अघि बढाउनेछ । यो खबर आजको गोरखापत्र दैनिमा प्रकाशित छ ।

सङघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइका लागि पत्र प्राप्त भएको जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, ‘‘सुनुवाइका लागि पत्र प्राप्त भएको छ । अब समितिले प्रक्रिया सुरु गर्न प्रारिम्भक बैठक आह्वान गर्नेछ ।’’ समितिले राष्ट्र सङ्घको स्थायी नियोग न्यूयोर्कका लागि प्रस्तावित अमृत राईसँगै अध्यक्षहरूको पनि सुनुवाइ गर्ने तयारी गरेको छ । राईको सुनुवाइ प्रक्रिया समितिले सुरु गरिसकेको छ । प्रक्रिया हाल उजुरी आह्वानको चरणमा छ ।

संवैधानिक परिषद्को माघ ६ गतेको बैठकले विभिन्न पाँच आयोगमा अध्यक्ष सिफारिस गरेको थियो । परिषद्ले प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरेको थियो ।

परिषद्को निर्णय अनुसार वित्त आयोगमा पूर्वसचिव समेत रहनुभएका बालानन्द पौडेललाई सिफारिस गरिएको छ । यस्तै, पूर्वसचिव शान्तराज सुवेदीलाई समावेशी आयोगको अध्यक्षमा सिफारिस गरिएको छ । यस्तै, मधेशी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी, र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारी सिफारिस हुनुभएको छ ।

संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा सुनुवाइको व्यवस्था गरेको छ । समितिले अनुमोदन गरेको अवस्थामा प्रस्तावित अध्यक्षहरुको नियुक्ति प्रक्रिया सुरु हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।