

काठमाडौँ, १० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीहरूको सङ्ख्या बढेको ती अस्पतालले जानकारी दिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनका बिरामी देखिएका छन् । महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको ¥यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जाका बिरामी थिए । विभिन्न अस्पतालमा सिजनल फ्लु को समस्या लिएर आउने विरामी पनि धेरै रहेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले दैनिक २५ जना बिरामी सिजनल फ्लुका बिरामी आउने गरेको जानकारी दिनुभयो । उहाँले तीमध्ये १० देखि १५ जना एचवनएनवनका बिरामी देखा पर्नेगरेको बताउनुभयो । कतिपयलाई आइसीयूमा राखेर उपचार गरिरहनुपरेको जानकारी दिदै उहाँले भन्नुभयो,“केही दिन उपचार गरेपछि ठीक भएर घर गएका छन् ।”
मौसमी फ्लुका कारण पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत प्रभावित हुनुभएको थियो भने उहाँकी श्रीमती सीता दाहाल तथा खानेपानी मन्त्री बिना मगर समेत अस्पताल भर्ना हुनुभएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले सङ्क्रमक रोग भएको जानकारी दिनुभयो । उहाँले जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरोबाट मानिस प्रभावित हुने गरेको जानकारी दिनुभयो ।
खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भन्दै प्रायः सामान्य रुघाखोकीको रूपमा देखापर्ने र केही दिनमा आफैँ हराएर जाने उहाँको सुझाव छ । गर्भवती महिला, पाँचवर्ष मुनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वाससम्बन्धी व्यक्ति यस्तो रोगबाट बढी जोखिममा हुने जानकारी पनि उहाँले दिनुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले बालबालिका पनि सिजनल फ्लुबाट बढी प्रभावित हुने गरेको बताउँदै पछिल्लो समय मौसमी इन्फ्लुएन्जाका बिरामीको चाप बढेको बताउनुभयो । अल्का अस्पतालका प्रमुख कुमार थापाले अस्पतालमा दैनिक २५ जना मौसमी फ्लुका बिरामी आउने गरेको जानकारी दिदै ती मध्ये १० जना एएचवनएनवन मौसमी फ्लु पुष्टि भएको जानकारी दिनुभयो ।
मौसमी रुघाखोकीको लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट मडारिने, झाडा पखाला हुने, हाच्छिउँ आउने, नाकबाट पानी बग्ने, नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाड जोर्नी दुख्ने, आलस्य आउने गर्छ ।
शुक्रराज अस्पतालका निर्देशक डा. पाण्डेले मौसमी रुघाखोकीबाट बच्न खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, सफा रुमाल, कपडा वा पाखुराले मात्र हाच्छिउँ गर्ने, साबुन पानीले पटक पटक हात धुने, हात नमिलाउने, नमस्कार गर्ने, रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने सुझाव दिनुभयो ।
सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, जथाभावि नथुक्ने वा सिंगान नफाल्ने, शङ्कास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने, रुघाखोकी लागेका व्यक्ति तीनदेखि पाँचदिन सम्म घरमै आराम गरेर बस्नुपर्ने बताउनुभयो । रोगीलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस खुवाउनुपर्ने सुझाव दिदै डा. पाण्डे यस्तो अवस्थामा चुरोट र मदिराको प्रयोग गर्न नहुने बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।