काठमाडौं, ९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।
सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने बताए। उनले भने,‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं। पास हुन्छ। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने मन्त्री बसेकै ठाउँबाट पनि टेबुल हुन्छ। किनभने त्यसको नजिर चाहिँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नु भएको छ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु। उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालिन नेकपा एमालेले संसद अवरोध गर्यो। मन्त्रीले रोष्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन। तर, सभामुख पौडेलले तपार्इँ जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भन्नुभयो। पौडेलजीले त्यतिवेला मन्त्रीलाई बसेकै ठाउँबाट विधेयक टेबुल गर्न लगाउनुभयो। र, पास गर्नुभयो।’
उनले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरे। उनले भने,‘त्यतिवेला विधेयक पास भइहाल्यो। हामीले विरोध गरेका थियौं। कांग्रेसले ज्यादती गर्यो भन्यौं। अब अहिले पनि कांग्रेससँग त्यो अधिकार छ। कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस, तर विधेयक पारित गर्ने कुरालाई रोक्न पाइँदैन।’
विधेयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विधेयक लिएर पढाउन जानपनि कांग्रेसलाई उनले सुझाव दिए। उनले भने, ‘यो विधेयक प्रतिगामी छ, माफीयमुखी छ भनेर के–के पढाउनुपर्छरु आफूले पढाउन सकिएन भने डा। गोविन्द केसीलाई सँगसँगै कांग्रेसको मञ्चमा लगेर पढाए भयो। हाम्रोविरुद्धमा जनमत बनाए भैहाल्यो नि।’
भट्टराईले अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए। उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ। अब उहाँ पछि हट्नुको विकल्प छैन। किनभने उहाँले उठाउनुभएका सबै माग विधेयकमा समावेश भइसकेका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरुलाई भन्नुभएको छ। त्यो हो भने बेग्लै कुरा हो।’
उनले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनेपनि विश्वास दिलाए।