

काठमाडौं, ९ माघ । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लागेको भन्दै सरकारी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले सेवा बहिष्कारलगायतका कार्यक्रम घोषणा गरेका छन्।
आवासीय चिकित्सकहरुले बुधबार र विहीबार २ घण्टा ओपिडी छाडेर अस्पताल अगाडि धर्ना तथा विरोध प्रदर्शन गर्ने र ती दिनमा सरकारलाई ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र त्यति हुँदा पनि जीवन रक्षाका लागि ठोस पहल नभए ११ माघदेखि पूर्णरुपमा ओपिडी सेवा छाड्ने घोषणा गरेका छन्।
संयुक्त विज्ञाप्ति निकाले ओपिडी बहिष्कार घोषणा गर्नेमा त्रिवि शिक्षण अस्पताल, धरान र वीरका आकस्मिकबाहेकका सेवामा आवासीय चिकित्सक छन्। त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको संस्था राष्ट्रिय आवासीय चिकित्स्क संघ, रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका चिकित्सकहरुको संस्था जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्ती रुपमा विज्ञाप्ति जारी गरेर यस्तो घोषणा गरेका हुन् ।