श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित

काठमाडौं । नेपाल पत्रकार महासंघले कात्तिक १ गतेदेखि लागू भएको नयाँ न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा उल्लेखित सेवासुविधा उपलब्ध गराउन माग गर्दै देशभरका सञ्चार गृहलाई ध्यानाकर्षण गराउने अभियानको थालनी गरेको छ।

त्यस क्रममा टोलीले सोमबार नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलाई भेटी ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट समेतको उपस्थितिमा महासंघको श्रमजीवी हित प्रबद्र्धन समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले विष्टलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो।

महासंघका अध्यक्ष आचार्यले देशको सबैभन्दा ठूलो प्रशारण संस्था र सरकारी सञ्चार गृह हुनुको नाताले नेपाल टेलिभिजनले उदाहरणका रूपमा ऐन तथा नियमावली कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभयो। केही दिनमा हुने अनुगमनबाट सन्तुष्ट हुन नसकिए त्यस्ता मिडियामा महासंघ केन्द्रित हने उहाँको भनाइ थियो।

महासचिव विष्टले सरकारी सञ्चार माध्यमले ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा उपलब्ध गराए निजी सञ्चार गृहलाई पनि दबाब पर्ने बताउनुभयो। सचिव दाहालले न्यूनतम पारिश्रमिकलगायत ऐन तथा नियममा उल्लेखित सेवा सुविधा नदिने सञ्चार गृहमा कठोर ढंगले प्रस्तुत हुने बताउनुभयो। ज्ञापनपत्र बुझदै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा उपलब्ध गराइसकेको जानकारी गराउनुभयो।