सरकार विरुद्ध सडक आन्दोलनमा तरुण दल

सरकार विरुद्ध सडक आन्दोलनमा तरुण दल

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल आजबाट सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । तरुण दलले सरकार विरुद्ध सात वटै प्रदेशमा सडक आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो ।

सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलापका विरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिन लागेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिएका छन् ।

मंगलबार प्रदेश नम्बर १ को विराटनगरमा हुन गइरहेको आन्दोलनमा सहभागी हुन तरुण दलका केन्द्रीय नेताहरु सोमबार नै विराटनगर पुगिसकेका छन् । महासचिव शाहीले मंगलबार हुन गइरहेको विराटनगरको प्रदर्शनमा ५ हजार नेता कार्यकर्तालाई सडकमा उतार्ने बताएका छन् ।

आन्दोलनमा आसपासका जिल्लाहरुमा उपलब्ध पार्टीका केन्द्रीय नेताहरु पनि सहभागी हुने तरुण दलले जनाएको छ । तरुण दलले घोषणा गरेको सरकार विरुद्धको आन्दोलनलाई सघाउन कांग्रेसले केही दिन अघि नै ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

तरुण दलले माघ ९ गते प्रदेश नम्बर २ को जनकपुरमा, माघ १० गते प्रदश नम्बर ३ को हेटौंडामा, माघ ११ गण्डकी प्रदेशको पोखरामा, माघ १२ गते प्रदेश नम्बर ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेतमा र माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढीमा सरकारविरुद्ध प्रदर्शन गर्ने छ ।