पूर्वी नेपाल-तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र तिब्बतसँग जोडिएको छ ।

भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भए-नभएको विवरण भने प्राप्त भइसकेको छैन । यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगनबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ । यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको हो ।