

मनकामनामा सुविधासम्पन्न र आरामदायी आवासीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रलाई तीर्थाटनसँगै अन्य पर्यटकीय गतिविधिका लागि पनि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनामा निर्माण भएको रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आएको थियो। संस्थापक श्रेष्ठप्रतिको सम्मान र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालनमा आएको मितिमै गरिएको कम्पनीले जनाएको छ।
पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि संस्थापक श्रेष्ठको दूरदृष्टिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
रिसोर्टले सेवा र गुणस्तरमा सुधार गर्दै पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्न सहयोग गर्ने ग्राहक, कर्मचारी, स्थानीय बासिन्दा तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
त्यस्तै, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय, साझेदार ट्राभल एजेन्सी तथा पर्यटन र आतिथ्य क्षेत्रका सरोकारवालाको सहयोगप्रति पनि कम्पनीले धन्यवाद दिएको छ।
आगामी दिनमा मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप स्तरीय सेवा तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने रिसोर्टले जनाएको छ।