पर्यटकबाट तीन महिनामा २५ अर्ब आम्दानी

पर्यटकबाट तीन महिनामा २५ अर्ब आम्दानी

काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म भ्रमण आय ३२.७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १९ अर्ब २३ करोड रुपैयाँ थियो ।

यस अवधिमा भ्रमण व्यय भने १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । यसमध्ये शिक्षातर्फ मात्रै ३६ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । गत आवको सोही अवधिमा भ्रमण व्यय ६४ अर्ब ५९ करोड रुपैयाँ र शिक्षातर्फको खर्च ४२ अर्ब ९६ करोड रुपैयाँ थियो ।

भ्रमण आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा खाता १९ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको छ । यद्यपि, अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा ३२ अर्ब २७ करोड रुपैयाँ थियो ।