नेपाली अभिनेता अरुण क्षेत्री कोरियाली फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’मा

नेपाली अभिनेता अरुण क्षेत्री कोरियाली फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’मा

काठमाडौं । नेपाल र दक्षिण कोरियाका चलचित्रकर्मीको सहकार्यमा अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ। चलचित्रको मुख्य भूमिकामा नेपाली अभिनेता अरुण क्षेत्री चयन भएका छन्। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक एवं नेपाली सहनिर्माता चन्दन झा जोडिएका छन्।

रोमान्टिक कमेडी र सुपरनेचुरल विधामा आधारित चलचित्रमा के-ड्रामाको स्वादसमेत रहनेछ। यसको कथा पूर्व कोरियाली के-पप स्टार र युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धमा केन्द्रित हुनेछ। प्रेम, हास्य र रहस्यको संयोजनमार्फत आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रमा नेपाली अभिनेता अरुण क्षेत्री पुरुष मुख्य भूमिकामा देखिनेछन् भने महिला मुख्य भूमिकाका लागि दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम भने पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।

चलचित्रको निर्माण टोलीमा बोइम ह्वाङ, सहनिर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन्।

निर्देशक ह्वाङले पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यहाँको संस्कृति, मानिस र आध्यात्मिक वातावरणप्रति आफ्नो आत्मीयता बढेको बताएकी छन्। नेपालको मौलिकता र आध्यात्मिक पक्षलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणबाट पर्दामा उतार्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागेको उनको भनाइ छ।

सहनिर्माता चन्दन झाका अनुसार चलचित्रलाई विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गरिनेछ। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको चलचित्र पछि विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा समेत प्रदर्शन गर्ने योजना छ।

चलचित्रको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि मार्चसम्म नेपालमा गर्ने प्रारम्भिक तयारी छ। नेपाली पात्रोअनुसार यो अवधि २०८३ माघदेखि चैतसम्म पर्छ। दक्षिण कोरियाली महिला कलाकारसहित अन्य कलाकार तथा निर्माण टोलीका सदस्यहरूको विवरण पनि पछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।