

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफू अन्यायविरुद्ध लड्ने ‘फाइटर लेडी’को भूमिकामा रहेको बताएकी छन्। आफ्नोभन्दा पनि अरूका लागि आवाज उठाउने र अन्याय सहन नसक्ने महिलाको चरित्रमा आफू देखिन लागेको उनको भनाइ छ।
चलचित्रमा दीपाश्रीले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। आफ्नो चरित्र यसअघिका भूमिकाभन्दा फरक रहेको बताउँदै उनले मजदुरमाथि अन्याय हुँदा सबैभन्दा पहिले प्रतिवादमा उत्रिने महिलाका रूपमा आफूलाई प्रस्तुत गरेको बताएकी छन्।
“यसपटक मेरो चरित्र फरक छ। यो अलिकति फाइटर टाइपको भूमिका हो। मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्,” उनले भनेकी छन्।
निर्माण पक्षले जारी गरेको प्रेस नोटमा दीपाश्रीको प्रवेशसँगै दर्शकबाट सिठी, ताली र हुटिङ आउने विश्वास व्यक्त गरिएको छ। चलचित्रमा उनी श्रीमान्लाई समेत सुरक्षा दिने र उनको पक्षमा दृढतापूर्वक उभिने महिलाका रूपमा देखिनेछिन्।
चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ राखिएको छ। यो नाम दर्शकको मुखमा झुण्डिने विश्वास व्यक्त गर्दै उनले भनिन्, “मेरो चरित्रको नाम ‘सितर्नी’ छ। चलचित्रमा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु। मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ।”
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन्।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलले चलचित्र सामाजिक विषयवस्तुमा आधारित ‘सोसल ड्रामा’ रहेको बताएका छन्।