अब आईपीओदेखि लक-इनसम्मका सूचना ‘मेरो शेयर’मै

अब आईपीओदेखि लक-इनसम्मका सूचना ‘मेरो शेयर’मै

काठमाडौं । पूँजी बजारका लगानीकर्ताले अब आईपीओ, हकप्रद, बोनस शेयर, लाभांश वितरण तथा संस्थापक शेयरको लक-इन अवधिसम्बन्धी सूचना एउटै प्लेटफर्मबाट प्राप्त गर्ने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले लगानीकर्ताको सूचनामा पहुँच सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा शेयर रजिस्ट्रारहरूले सी-आस्वा (C-ASBA) प्रणालीमार्फत सार्वजनिक निष्कासन तथा विभिन्न कर्पोरेट सूचनाहरू सिधै ‘मेरो शेयर’ प्लेटफर्ममा प्रकाशित गर्न सक्नेछन्।

यससँगै लगानीकर्ताले प्राथमिक शेयर (आईपीओ), हकप्रद शेयर, बोनस शेयर, लाभांश वितरण, ऋणपत्रको परिपक्वता तथा फिर्ता र संस्थापक शेयरको लक-इन अवधि खुल्ने मितिसम्बन्धी विवरण एउटै माध्यमबाट हेर्न पाउनेछन्।

यसअघि कम्पनीहरूले यस्ता सूचना विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिका, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र आफ्नै वेबसाइटमार्फत छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए। यसले गर्दा आम लगानीकर्तालाई समयमै आवश्यक सूचना प्राप्त गर्न कठिनाइ हुने गरेको थियो।

विशेषगरी जलविद्युत् कम्पनीलगायतका संस्थापक तथा स्थानीय शेयरको लक-इन अवधि कहिले समाप्त हुन्छ भन्ने जानकारी समयमै नपाउँदा लगानीकर्ताले जोखिम व्यहोर्नुपर्ने अवस्था थियो। अब लक-इन खुल्ने मिति र शेयर कित्ताको विवरणसमेत मेरो शेयरमै उपलब्ध हुने भएपछि लगानीकर्तालाई बजारसम्बन्धी निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ।

नेपालमा ६० लाखभन्दा बढी डिम्याट खाता र लाखौँ मेरो शेयर प्रयोगकर्ता रहेको अवस्थामा यो व्यवस्थाले पूँजी बजारमा सूचनाको पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।

कम्पनीका वित्तीय तथा कर्पोरेट गतिविधिसम्बन्धी सूचना एकीकृत रूपमा उपलब्ध हुँदा लगानीकर्ताले लगानी गर्नुअघि आवश्यक तथ्य र विवरण प्राप्त गर्न सक्नेछन्। यसले बजारमा सूचनाको असमानता घटाउन, पारदर्शिता बढाउन र लगानीकर्ताको निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने देखिन्छ।