डेभिड वार्नरको अटोग्राफ पाएपछि प्रियंका कार्की उत्साहित, भनिन्- ‘यो क्षण सधैँ सम्झनामा रहनेछ’

डेभिड वार्नरको अटोग्राफ पाएपछि प्रियंका कार्की उत्साहित, भनिन्- ‘यो क्षण सधैँ सम्झनामा रहनेछ’

काठमाडौं । नेपाली अभिनेत्री प्रियंका कार्कीका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को माहोल यसपटक थप विशेष बनेको छ। विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरसँगको भेट र उनको अटोग्राफ पाएपछि प्रियंका निकै उत्साहित बनेकी छन्।

एनपीएल खेल्न नेपाल आएका वार्नरले आइतबार आयोजित एक कार्यक्रममा प्रियंकाको जर्सीमा अटोग्राफ दिएका हुन्। वार्नर काठमाडौं गोर्खाजबाट प्रतियोगिता खेलिरहेका छन् भने प्रियंका पनि सोही फ्रेन्चाइज टोलीको ‘फेस अफ द टिम’ हुन्। काठमाडौं गोर्खाजलाई समर्थन गर्न प्रियंका छोरीसहित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुग्ने गरेकी छन्।

काठमाडौं गोर्खाजले आयोजना गरेको तिहार विशेष कार्यक्रममा वार्नरसहित टोलीका खेलाडीहरू सहभागी भएका थिए। सोही अवसरमा प्रियंकाले वार्नरसँग आफ्नो जर्सीमा अटोग्राफ मागेकी थिइन्। वार्नरले पनि सहज रूपमा उनको आग्रह स्वीकार गर्दै जर्सीमा हस्ताक्षर गरिदिए।

उक्त विशेष क्षणको तस्बिर प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्दै आफ्नो खुसी र सम्मान व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘कस्तो अद्भुत क्षण! डेभिड वार्नरले मेरो जर्सीमा हस्ताक्षर गर्दै हुनुहुन्छ। यो तस्बिर हेर्दा अहिले पनि म त्यति नै मुस्कुराइरहेकी छु, जति त्यो क्षणमा थिएँ।’

विश्वभरका क्रिकेटप्रेमीलाई अनगिन्ती अविस्मरणीय क्षण दिएका महान् खेलाडीले आफ्नो लागि समय निकालेर अटोग्राफ दिएकोमा आफू सम्मानित महसुस गरेको पनि उनले उल्लेख गरेकी छन्। विशेषगरी एनपीएल फ्रेन्चाइज काठमाडौं गोर्खाजको जर्सीमा वार्नरले हस्ताक्षर गरिदिएकाले यो क्षण आफ्नो लागि अझ विशेष बनेको प्रियंकाको भनाइ छ।

वार्नरको विनम्रता र आत्मीय व्यवहारको प्रशंसा गर्दै उनले लेखेकी छन्, ‘यति दयालु र आत्मीय बनिदिनुभएकोमा धन्यवाद डेभिड। म यो जर्सी र यससँग जोडिएका सम्झनाहरूलाई सधैँ अमूल्य रूपमा सम्हालेर राख्नेछु।’ विश्व क्रिकेटका चर्चित खेलाडीसँगको यो भेटलाई प्रियंकाले आफ्नो जीवनको अविस्मरणीय क्षणका रूपमा लिएकी छन्।