

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ।
यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने हुन्छ।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा कुकुर तिहार मनाउने गरिएको हो।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
आज नरक चतुर्दशी पनि मनाइँदैछ। यस दिन बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान तथा तर्पण गरी यमदीप दक्षिण फर्काएर बगाउने धार्मिक परम्परा छ। यसो गर्दा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताए। यसरी बत्ती बालेर बगाउने विधिलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ। यसो गर्दा शरीर स्वस्थ रहने आयुर्वेदिक मान्यता छ। त्यसैले तिहारलाई धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिएको छ।