कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्कीएमा

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्कीएमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्या पुगेका छन् ।

नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ अर्थात् कात्तिक २३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् ।

सम्मेलनका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा : ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

यसका अतिरिक्त उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै विभिन्न देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।