

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई राति पौने १२ बजे ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका डीएसपी खड्काले बताए।
उनका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।