राष्ट्र बैंकले आजदेखि तिहारका लागि सुनका असर्फी र चाँदीका मेडालियन बेच्दै

राष्ट्र बैंकले आजदेखि तिहारका लागि सुनका असर्फी र चाँदीका मेडालियन बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गर्दैछ। राष्ट्र बैंकको टक्सार महाशाखाले आज र भोलि दुई दिन सर्वसाधारणलाई असर्फी र मेडालियन बिक्री गर्ने जनाएको छ।

महाशाखाका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन्। दुवैमा लक्ष्मी र गणेशको चित्र कुँदिएको हुनेछ। खरिदकर्ताले उपलब्धताअनुसार बढीमा दुई थानसम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले बिक्री हुने दिनको बजार मूल्यअनुसार रकम तिर्नुपर्नेछ। महाशाखाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गर्ने जनाएको छ। खरिदका लागि आउने सर्वसाधारणले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्नेछ।