

काठमाडौं । सामान खरिद गर्दा बिल लिने सामान्य बानीले उपभोक्तालाई १० लाख रुपैयाँको पुरस्कार दिलाएको छ। सरकारले सञ्चालन गरेको ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गतको लक्की ड्रमा बिग मार्टबाट किनमेल गरेका जनकपुरका एक उपभोक्ताले बम्पर पुरस्कार जितेका हुन्।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत विजेता घोषणा गरिएको थियो। कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको समेत सहभागिता थियो। सोही अवसरमा १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेतालाई प्रत्यक्ष टेलिफोन गरेर जानकारी दिइएको थियो।
सुरुमा पुरस्कार जितेको खबरबारे अनभिज्ञ रहेका विजेताले आफू नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको समर्थक रहेको बताएका थिए। संयोगवश कार्यक्रममा उपस्थित जनकपुर बोल्ट्स तथा राष्ट्रिय टोलीका खेलाडी ललितनारायण राजवंशीले उनीसँग फोनमा कुराकानी गर्दै बधाई दिएका थिए।
आफ्नो मनपर्ने टोलीका खेलाडीबाट पुरस्कार जितेको खबर पाएपछि उत्साहित भएका विजेताले १० लाख रुपैयाँको पुरस्कार रकमबाट घर बनाउने योजना सुनाएका थिए।
विजेताले गत कात्तिक ५ गते बिग मार्टबाट सामान खरिद गरी बिलको विवरण प्रणालीमा प्रविष्ट गरेका थिए। उनलाई खरिदको सक्कल बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने आयोजकले जनाएको छ।
उपभोक्तामा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्म प्रणालीमा प्रविष्ट गरिएका बिलमध्येबाट १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता गरी कुल १६ जना छनोट भएका छन्।
कार्यक्रममा बोल्दै क्रिकेटर राजवंशीले हरेक खरिदबिक्रीमा बिल लिने बानीको महत्त्व औँल्याए। उनले एकपटक रेस्टुरेन्टमा खाना खाँदा अर्का एक व्यक्तिले बिलको तस्बिर खिचिरहेको देखेपछि प्यान नम्बरसहितको बिल प्रणालीमा प्रविष्ट गर्दा पुरस्कार जित्न सकिने जानकारी पाएको आफ्नो अनुभव पनि सुनाए।
राजवंशीले करदाता प्रोत्साहन कार्यक्रमबारे सहरी क्षेत्रमा मात्र नभई दैनिक किनमेल गर्ने ग्रामीण भेगका सर्वसाधारणसम्म पनि पर्याप्त जानकारी पुर्याउनुपर्ने सुझाव दिए।
अर्का क्रिकेटर दिलीप नाथले उपभोक्तालाई आफूले प्राप्त गरेका प्रत्येक बिल सुरक्षित राख्न आग्रह गरे। बिल सुरक्षित राख्दा उपभोक्ताको अधिकार संरक्षण हुनुका साथै यस्ता पुरस्कार जित्ने अवसरसमेत प्राप्त हुने उनको भनाइ थियो।
त्यस्तै, ब्याटर लोकेश बमले विगतमा कर छलीका विषय सुनिने गरेको स्मरण गर्दै अहिले नागरिक आफैँले बिल माग्ने र खोज्ने प्रवृत्ति बढ्नु अर्थतन्त्र तथा पुँजी निर्माणका दृष्टिले सकारात्मक रहेको बताए।
कार्यक्रमको अन्त्यमा क्रिकेटर राजवंशीले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सफल बनाउन खेलप्रेमीलाई मैदानमै उपस्थित भएर वा डिजिटल माध्यमबाट नेपाली क्रिकेटलाई साथ र हौसला दिन आग्रह गरे।