

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र केसी, साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, मधेशी आयोगकी सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्वअध्यक्ष सन्ध्या पहारीलाई सल्लाहकारमा चयन गरेको हो।
त्यसैगरी, च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई नेपाल च्याप्टर महिला समितिको संयोजकको जिम्मेवारी दिएको छ। अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालका अनुसार सल्लाहकारमा चयन भएका व्यक्तित्वहरूले नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्।

सल्लाहकार राजेन्द्र केसी नेपाली चलचित्र क्षेत्रमार्फत नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन्। उनले अनेसास नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेपाल चलचित्र विकास बोर्डको सदस्य तथा अनेसास केन्द्रीय संस्कृति समितिमा रहेरसमेत काम गरेका केसी हाल अनेसासका केन्द्रीय सदस्य छन्। उनको ‘मौन आकाश’ कवितासङ्ग्रह प्रकाशित छ।
त्यस्तै, अस्मिता सुमार्गी सामाजिक सेवा, साहित्य र व्यवसायका क्षेत्रमा सक्रिय छन्। अनेसासकी आजीवन सदस्य सुमार्गीले नेपाल च्याप्टरको संस्थागत विकासमा सहयोग पुर्याउँदै आएकी छन्। उनका लेखरचना विभिन्न स्मारिका तथा पत्रपत्रिकामा प्रकाशित छन्।
वरिष्ठ साहित्यकार खेमनाथ दाहाल नेपाली वाङ्मयका बहुविधाका सशक्त साधक तथा महाकाव्यकारका रूपमा परिचित छन्। उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’, ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासङ्ग्रह र ‘अहोरात्र’ उपन्यास उनका चर्चित कृति हुन्। सन् २००४ देखि अनेसासको आजीवन सदस्य रहेका दाहाल बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध छन्। उनको भूमिका तथा समालोचना सङ्ग्रह ‘सिर्जनामा दृष्टि’ पनि प्रकाशित छ।
सल्लाहकार रेणुदेवी साह साहित्यिक अभिरुचिका साथै महिला अधिकारका क्षेत्रमा सक्रिय छन्। हाल मधेशी आयोगकी सदस्य रहेकी साहले मधेश क्षेत्रमा नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी छन्। अनेसासकी आजीवन सदस्य साहका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
त्यसैगरी, सन्ध्या पहारी नेपाल च्याप्टरकी पूर्वअध्यक्ष हुन्। उनी हाल अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्यका रूपमा आबद्ध छिन्। नेपाल प्रज्ञा–प्रतिष्ठानमा लामो समय उच्च जिम्मेवारीमा रहेर नेपाली भाषा तथा साहित्यको संवर्द्धनमा योगदान पुर्याएकी पहारी विभिन्न साहित्यिक विधामा सक्रिय छिन्।
महिला समितिको संयोजक चयन भएकी शान्ति रिसालको नेतृत्वमा समिति गठन प्रक्रिया अघि बढाइएको छ। समितिले छिट्टै पूर्णता पाउने र महिला साहित्यकारको सिर्जना, प्रतिभा तथा आवाजलाई संस्थागत मञ्च प्रदान गर्ने अपेक्षा गरिएको महासचिव दाहालले बताए।
अनेसास नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न विधागत समिति क्रमशः गठन गर्दै लैजाने योजना बनाएको छ। यसबाट नेपाली सिर्जनालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने, प्रवास र मातृभूमिबीचको साहित्यिक सम्बन्ध प्रगाढ बनाउने तथा नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्ने अभियानले थप गति लिने विश्वास च्याप्टरले लिएको छ।