नेपाललाई एलडीसीबाट स्तरोन्नति हुन थप समय, तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म

नेपाललाई एलडीसीबाट स्तरोन्नति हुन थप समय, तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकले प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै दुवै देशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरेको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले यसबारे जानकारी दिएको छ ।

यो निर्णयसँगै नेपालले एलडीसी सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन थप समय पाएको छ ।

नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणमा उपयोग गर्ने जनाएको छ । साथै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति, दिगो विकासका लागि सन् २०३० को कार्यसूची र दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछ ।

थपिएको समयले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । निर्णयका लागि नेपालको स्थायी नियोगले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई निरन्तर सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद दिएको छ ।