ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टरको शिलान्यास छिट्टै हुने

ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टरको शिलान्यास छिट्टै हुने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको शिलान्यास छिट्टै गरिने बताएकी छन्। आइतबार प्रस्तावित ट्रमा सेन्टर निर्माणस्थलको अवलोकन गर्दै मन्त्री मेहताले टेन्डर प्रक्रिया पूरा भइसकेको र आयोजना निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिइन्। यद्यपि, शिलान्यासको निश्चित मिति र निर्माण कार्य सुरु हुने समयबारे उनले स्पष्ट जानकारी दिइनन्।

“हाम्रो टेन्डर नै परिसकेको छ। स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ। बहुवर्षीय आयोजना भइसकेको छ, त्यही भएर यो सम्पन्न हुने दिशामा अघि बढिरहेको छ। शिलान्यासको ठ्याक्कै मिति भन्न गाह्रो हुन्छ। तर छिट्टै हुन्छ। यहीँ बन्छ,” उनले भनिन्।

ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि चार बिघा जग्गा खरिद गरिएको छ। तर, लामो समयदेखि निर्माण प्रक्रिया अघि नबढेपछि स्थानीयवासीले आयोजना शीघ्र सुरु गर्न माग गर्दै आएका छन्।

ट्रमा सेन्टर निर्माण भएपछि दुर्घटनामा परी गम्भीर घाइते भएका तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।