पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई स्वार्थभन्दा माथि राखौँ

पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई स्वार्थभन्दा माथि राखौँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्था अस्तव्यस्त रहेको टिप्पणी गरेका छन्। दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको बताएका हुन्।

उनले राज्य प्रणालीलाई कसरी अगाडि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने प्रश्न अहिले उठ्नुको कारणबारे पनि जिज्ञासा व्यक्त गरेका छन्।

“हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?” उनले प्रश्न गरेका छन्।

विद्यमान अवस्थालाई सुधार गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले बदलिँदो विश्वपरिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता तथा मौलिक मूल्य–मान्यतालाई बलियो बनाउन आवश्यक रहेको बताएका छन्।

पूर्वराजा शाहले भोटेकोसी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्यता अपनाउन पनि सुझाव दिएका छन्।

नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले साझा इतिहास, आस्था, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको संरक्षण गर्नुपर्ने बताएका छन्।

“नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले शुभकामना सन्देशमा भनेका छन्।

देश कठिन परिस्थितिमा रहेका बेला आपसी भाइचारा कायम राख्न, एक क्षेत्रका नागरिकको दुःखमा अर्को क्षेत्रका नागरिकले साथ दिन र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न पनि उनले आह्वान गरेका छन्।

“देशको कठिन समयमा एक अर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ,” पूर्वराजा शाहले भनेका छन्।