

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन्।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बसपार्कमा भीड बढेको हो।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनमा नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्।
उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका हुन्।
सडक अवरुद्ध हुँदा यातायात व्यवस्थापनमा समस्या
दसैँका लागि घर फर्किने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन र यात्रु व्यवस्थापन गर्न कठिनाइ भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारीसाधनको आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा थप समस्या भएको उनले बताए।
टिकट काटेर मात्रै यात्रा गर्न आग्रह
यात्रुको चाप बढिरहेका बेला महासङ्घले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध नवीकरण गर्ने प्रमुख पर्व भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस हरेक वर्ष ठूलो सङ्ख्यामा घर फर्किने गर्छन्। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै राजधानीबाट बाहिरिने यात्रुको चाप बढेको छ।