

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट एउटा मात्रै अध्यादेश जारी भएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी अध्यादेश जारी गरिएको छ। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याइएको हो।
विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न लाग्ने समय घटाउने व्यवस्था समेटिएको छ। हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्का घटनामा भने ४५ दिनमै मृतक घोषणा गर्न सकिने प्रावधान अध्यादेशमा राखिएको बताइएको छ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ। राष्ट्रपतिबाट जारी भएपछि अध्यादेशका व्यवस्था कार्यान्वयनमा आउनेछन्।