

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउने रणनीति अघि बढाएको छ।
बैंक स्थापनाको दुई दशक पूरा गर्न लाग्दा वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको बैंकले जनाएको छ। बैंकले आगामी असोज १६ गते आफ्नो २०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।
बैंकका अनुसार पछिल्लो समय परम्परागत बैंकिङ प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने काम भइरहेको छ।
हाल बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत रहेको बैंकले विभिन्न माध्यमबाट १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ र चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। सो अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ। निक्षेप तथा कर्जा विस्तारसँगै नाफामा भएको वृद्धिले बैंकको व्यावसायिक आकार थप विस्तार भएको बैंकको दाबी छ।
बैंकले आगामी वार्षिक साधारणसभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस गरेको छ। साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि लाभांश वितरण गरिनेछ।
दुई दशकको यात्रा पूरा गर्ने क्रममा बैंकले आगामी व्यावसायिक रणनीतिमा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ। दीर्घकालीन व्यावसायिक रणनीतिअन्तर्गत ‘डिजिटल फर्स्ट बैंक’को अवधारणालाई अघि बढाउँदै बैंकिङ सेवालाई थप प्रविधिमैत्री बनाउने प्रयास भइरहेको बैंकको भनाइ छ।
यसअन्तर्गत परम्परागत तथा म्यानुअल प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने काम भइरहेको छ। बैंकका अनुसार हालसम्म २८ भन्दा बढी डिजिटल वर्कफ्लो कार्यान्वयनमा ल्याइसकिएको छ।
डिजिटल वर्कफ्लोमार्फत हालसम्म ४६ हजारभन्दा बढी सेवा अनुरोध प्रशोधन गरिएको बैंकले जनाएको छ। यसले बैंकिङ प्रक्रियामा हुने म्यानुअल हस्तक्षेप घटाउन सहयोग गरेको बैंकको भनाइ छ।
बैंकले दोहोरिने प्रकृतिका कामलाई स्वचालित बनाउन रोबटिक प्रोसेस अटोमेसन (आरपीए)को प्रयोग विस्तार गरेको छ। हाल आरपीएलाई १६ वटा व्यावसायिक प्रक्रियामा प्रयोग गरिएको बैंकले जनाएको छ।
आरपीए तथा अन्य अटोमेसन प्रविधिको प्रयोगमार्फत नियमित तथा दोहोरिने कामलाई स्वचालित बनाउँदै कर्मचारीको समयलाई सिर्जनशील तथा थप मूल्य सिर्जना गर्ने काममा उपयोग गर्ने आधार तयार गरिएको बैंकको भनाइ छ।
आगामी दिनमा बिजनेस प्रोसेस म्यानेजमेन्ट (बीपीएम), आरपीए तथा स्ट्रेट-थ्रु प्रोसेसिङ (एसटीपी)को प्रयोग थप विस्तार गर्ने योजना बैंकले अघि सारेको छ।
डिजिटल प्रविधिलाई ग्राहक सेवामा मात्र सीमित नगरी आन्तरिक सञ्चालन दक्षता र लागत व्यवस्थापनमा समेत प्रयोग गर्ने बैंकको रणनीति छ।
ग्राहक सेवा सुधारका लागि बैंकले ग्राहक सम्बन्ध व्यवस्थापन प्रणाली विस्तार गरेको जनाएको छ। यसबाट ग्राहकका सेवा अनुरोधलाई व्यवस्थित रूपमा दर्ता, ट्र्याक तथा समाधान गर्ने प्रणाली थप सुदृढ भएको बैंकको भनाइ छ।
बैंकले २४ सै घण्टा कल सेन्टर सञ्चालन गर्दै ग्राहकलाई समयमै सेवा तथा सहायता उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, बैंकले ग्लोबल जिपिटी तथा डकुमेन्ट क्वेरिज सिस्टम (डीक्यूसी) जस्ता एआईमा आधारित प्रणालीमार्फत कर्मचारीलाई आवश्यक संस्थागत सूचना तथा दस्तावेजमा छिटो पहुँच पुर्याउने प्रयास गरिरहेको जनाएको छ।
आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग ग्राहक सेवा, कर्मचारीको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा जोखिम व्यवस्थापनसम्म विस्तार गर्ने योजना बैंकको छ।
डिजिटल बैंकिङ विस्तारसँगै बैंकले ग्लोबल स्मार्ट प्लसलाई थप सुविधायुक्त बनाउँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, आईपीओ आवेदनलगायत विभिन्न वित्तीय सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै आएको जनाएको छ।
आगामी आर्थिक वर्षमा पूर्ण क्षमताको डिजिटल शाखा स्थापना तथा डिजिटल लेन्डिङ क्षमता विस्तार गर्ने योजना पनि बैंकले अघि सारेको छ।
बैंकका अनुसार डिजिटल अटोमेसन, एआई र डिजिटल वर्कफ्लोलाई एकीकृत रूपमा अघि बढाउँदै सेवा प्रवाहको गति बढाउने, सञ्चालन दक्षता सुधार गर्ने, म्यानुअल प्रक्रिया घटाउने तथा दीर्घकालीन व्यावसायिक दिगोपन हासिल गर्ने लक्ष्य लिइएको छ।