पर्यटन बजेट र व्यावसायिक वृद्धिमा केन्द्रित सिटिजन्स बैंकको गण्डकी प्रदेश सेमिनार सम्पन्न

पर्यटन बजेट र व्यावसायिक वृद्धिमा केन्द्रित सिटिजन्स बैंकको गण्डकी प्रदेश सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा पर्यटन बजेट, कार्यसम्पादन र आगामी व्यावसायिक वृद्धिको रणनीतिसम्बन्धी सेमिनार सम्पन्न गरेको छ।

बैंकले आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘क्यापिटलाइजिङ अन टुरिजम बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु-गण्डकी प्रदेश (२०८३/८४)’ शीर्षकमा सेमिनार आयोजना गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा तथा चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे विस्तृत छलफल गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्य थप सुदृढ गर्दै व्यावसायिक विस्तार, ग्राहक सेवा, कर्जा गुणस्तर तथा बजार सम्भावनाको प्रभावकारी उपयोग गर्ने विषयमा समेत अन्तरक्रिया भएको थियो।

गण्डकी प्रदेशका ८ जिल्लामा सिटिजन्स बैंकका १५ वटा शाखा सञ्चालनमा रहेका छन्।

बैंकले यसअघि पनि विभिन्न प्रदेशमा क्षेत्रगत रणनीतिक समीक्षा कार्यक्रम आयोजना गरिसकेको जनाएको छ। बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट’, मधेस प्रदेशमा ‘ड्राइभिङ हाई भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’, सुदूरपश्चिम प्रदेशमा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ तथा कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स : परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न भइसकेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद नाफा पनि गत आर्थिक वर्षमा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाइएको छ।

बैंकले बैंकिङ सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सुरु गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी-आर-एन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ। साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्यास बैंक टेलर’ सुविधा सञ्चालनमा ल्याइएको छ।

‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार हाल २० लाख ६९ हजारभन्दा बढी ग्राहकले बैंकका विभिन्न सेवा उपयोग गरिरहेका छन्।