

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ नोट साविककै आकारमा रङ तथा डिजाइनमा परिवर्तनसहित ल्याइएको हो।
नयाँ नोट बैजनी रङको घेराभित्र फिक्का हरियो रङमा रहेको छ। यसको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकित पानीछाप राखिएको छ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखा राखिएको छ।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने चलायमान भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने विशेषतायुक्त सुरक्षण धागो राखिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ।
त्यस्तै, नेपालको सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँसका चित्र तथा हनुमानढोकास्थित ल्होंचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि नोटमा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।
