नेप्से ७ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

नेप्से ७ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.७१ अंक, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३५६ स्टकको ७० हजार ६९१ पटकको कारोबारबाट ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको हो। कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको जनाइएको छ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब ८ प्रतिशत तथा मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्नो रिभर्सको सेयर मूल्य भने सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको करिब साढे ४० करोड र घलेम्दी हाइड्रोको २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढेको छ भने ६ उपसमूहको घटेको छ। अन्य उपसमूहको सूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहका सूचक पनि सामान्य बढेका छन्।