असोज ९ देखि भारी वर्षा र हिमपातको सम्भावना, काठमाडौंमा पनि वर्षा

असोज ९ देखि भारी वर्षा र हिमपातको सम्भावना, काठमाडौंमा पनि वर्षा

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीको मध्य-पश्चिमी भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘बलियो न्यूनचापीय क्षेत्र’का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने पूर्वानुमान गरिएको छ। उक्त मौसमी प्रणालीका कारण असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै मौसम महाशाखाले यसअघि नै विशेष बुलेटिन जारी गरिसकेको छ।

हाल देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहेको मंगलबार बिहान ८ बजे अद्यावधिक गरिएको मौसम बुलेटिनमा उल्लेख छ।

दिउँसोको मौसम

दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानमा तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको मौसम

राति कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली भेग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भेग तथा बाँकी तराईमा भने आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच, आज दिउँसो तथा राति काठमाडौं उपत्यकामा मध्यम वर्षा हुन सक्ने मौसम महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना दिउँसो ६० प्रतिशत र राति ४० प्रतिशत रहेको छ।