

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि आजदेखि सेयर कारोबार नियमित गर्न लागिएको नेप्सेले जनाएको छ।
डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबारको नियमित कारोबार स्थगित गरेको थियो।
डेटा सेन्टरको समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।
सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम असोज ५ गतेको कारोबार स्थगित गरेको थियो। एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि सेयर बजारको कारोबार नियमित रूपमा सञ्चालन हुने नेप्सेले जनाएको छ।