

काठमाडौं । उद्योगमन्त्री दीपककुमार साहले बजारमा एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री साहले सरकारको निरन्तर प्रयासपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएको बताए।
‘सरकारको निरन्तर प्रयासपछि कृष्णभीरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ। यससँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको छ,’ उनले भने।
काठमाडौं उपत्यकामा ग्यास ढुवानीलाई थप सहज बनाउन उद्योगी, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए। मन्त्री साहका अनुसार विभिन्न स्थानमा लुकाएर राखिएका एक हजारभन्दा बढी ग्यास सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई वितरण गरिएको छ।
गलत कार्यमा संलग्न हुनेलाई सरकारले कारबाही गर्ने र अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने उनको भनाइ छ। मन्त्री साहले आगामी चाडपर्वमा ग्यासको अभाव हुने चिन्ता नगर्न उपभोक्तालाई आग्रह गरे।
‘आउँदा चाडपर्वमा ग्यास पाइएला कि नपाइएला भन्ने दुविधामा रहनु पर्दैन,’ उनले भने।
ग्यास आपूर्तिका विषयमा सरकारको जिम्मेवारी बैठक वा घोषणाको संख्याबाट नभई सिलिन्डर समयमै उपभोक्तासम्म पुगे–नपुगेको, मूल्य पारदर्शी भए–नभएको र गुनासो कति छिटो सम्बोधन भयो भन्ने परिणामबाट मापन हुने उनले बताए।
‘हामी सम्पूर्ण उपभोक्तालाई निश्चिन्त पार्न चाहन्छौँ, आउँदो चाडपर्वमा यहाँहरू ग्यास पाइएला कि नपाइएला भन्ने दुविधामा रहनु पर्दैन। सरकारले चाडपर्व अगावै यस समस्याको समाधान गर्नेछ,’ उनले भने।
तत्कालीन समस्या समाधानसँगै सरकारले ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन आवश्यक योजना बनाएर काम गरिरहेको मन्त्री साहले जानकारी दिए।