

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ। राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार र रङमा छ। नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ।
नोटको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० तुरुन्त पाइने छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ५० रुपैयाँको अंकसमेत रहेको छ। पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो पनि राखिएको छ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने उक्त धागोमा ‘NRB’ लेखिएको छ। नयाँ नोटको सिरिजमा नेपालीतर्फ ‘वि.सं. २०८२’ र अंग्रेजीतर्फ ‘2025 AD’ उल्लेख गरिएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहनेछ।