

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ।
बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनाका कर्मचारी तथा कामदार बेपत्ता छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई खोजी, सामाजिक संस्कार तथा जीवनयापनमा सहयोग पुग्ने गरी राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए।
राहतको पहिलो प्याकेजअन्तर्गत बेपत्ता स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ तत्काल राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको छ।
त्यस्तै, स्थायी कर्मचारीका नजिकका हकवालालाई थप राहतस्वरूप बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ। यो रकम अर्को निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म, भदौदेखि लागू हुने गरी उपलब्ध गराइनेछ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी राज्यको पनि भएको बताए। ‘हामी एउटै परिवार हौँ। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लगाउने काम गरोस्,’ उनले भने।