

काठमाडौं । लगातार तीन कारोबार दिनमा १०२ अंक बढेपछि बुधबार सामान्य करेक्सन भएको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः उकालो लागेको छ। यस दिन नेप्से ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.०७ अंक, फ्लोट इन्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारबाट ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे ६ प्रतिशत तथा माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ। घटेका स्टकहरूको गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो।
त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूहको सूचक घटेको छ। जीवन बीमा उपसमूह १.०८ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उकालो लागेको छ। लगानी र अन्य उपसमूहका सूचक भने सामान्य घटेका छन्।