आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

काठमाडौँ । नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व तीजको समापनसँगै मनाउने गरिन्छ ।

ऋषि पञ्चमीका दिन महिलाले बिहानै उठेर स्नान गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ । यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको पारायण सकेलगत्तै ऋषि पञ्चमीका विधि पूरा गर्नुपर्ने धर्मशास्त्रीहरूले बताएका छन् ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी महिलाका लागि विशेष पर्व हो ।

परम्पराअनुसार महिलाले ३६५ वटा दत्तिउनले दाँत माझी गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा पञ्चगव्य सेवन गर्ने चलन छ । त्यसपछि सप्तऋषिको पूजा गरी एक छाक हविष्य भोजन गर्ने परम्परा रहेको छ ।

धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जानेर वा नजानेर भएका त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गर्ने गरिन्छ । यस पर्वसँग जोडिएको धार्मिक कथामा इन्द्रले गरेको ब्रह्महत्याको पाप पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भागमा बाँडिएको उल्लेख छ ।

ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिलाको भीड लाग्ने गरेको छ । मन्दिर जान नसक्ने महिलाले नदी, पोखरी वा घरमै स्नान तथा पूजा–आराधना गर्ने गर्छन् ।