

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन घटेको बजार शुक्रबार भने बढेर बन्द भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएपछि बजार बढ्न टेवा पुगेको हो। विगतका गैरजिम्मेवार गतिविधिका कारण पूँजीबजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अवस्था थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने बताएका थिए।
शुक्रबार सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४३ अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको कारोबार भएको बजारमा शुक्रबार ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारबाट १ करोड २० लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन कुल कारोबार रकम ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ।
शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशत बढेको छ। अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी बढेको छ। यता, मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १८ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जलविद्युत् उपसमूह सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। लगानी र निर्जीवन बीमा उपसमूह १.५ प्रतिशतभन्दा बढी तथा विकास बैंक र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले बढेका छन्।