

काठमाडौँ । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मिएका भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। छोटो जीवनकालमै उनले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। साथै, उनले नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले आज विविध कार्यक्रम आयोजना गर्दैछन्। नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण कार्यक्रम आयोजना गर्ने जनाएको छ। परिषद्का अध्यक्ष रमा शर्माका अनुसार कार्यक्रममा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।