ओमानमाथि नेपालको शानदार जित, फाइनलमा यूएईसँग भिड्ने

ओमानमाथि नेपालको शानदार जित, फाइनलमा यूएईसँग भिड्ने

काठमाडौँ । स्पिन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको छ। नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ र बसिर अहमदले ४७ रन बनाए।

नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा रहेका बेला दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका स्पिनरले ओमानको ब्याटिङ ध्वस्त पारे। ओमानका लागि जय ओडेडाराले १० ओभरमा २६ रन खर्चेर तीन तथा हस्नैन शाहले ८.४ ओभरमा २८ रन खर्चेर तीन विकेट लिए। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।

जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि नेपालले शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल जितेमा नेपाल आगामी एसिया कपका लागि छनोट हुनेछ। सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट भएको छ।